कास्कीमा सडक दुर्घटना बढ्दो

आजभोलि

गण्डकी । दुई साताको अन्तरमा पोखरामा दुई जनाले सडक दुर्घटनामा ज्यान गुमाए । महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो । त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा नगर बसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाउनुप-यो ।

यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनालाई दर्शाउँछ । यसरी लगातार जसो भइरहेका दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए । आव सकिन अझै तीन महिना बढी बाँकी छ । गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो ।

आव २०७७/०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए । पछिल्ला तीन वर्षको आँकडाले कास्कीमा सडक दुर्घटना बढ्दै गएको देखाउँछ । दुर्घटनाको सङ्ख्यासँगै मानवीय क्षति पनि बढ्दो क्रममा छ । बढ्दो आवादी र सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढाएको हो । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।

नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका उनको भनाइ छ । “तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेको छ, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारीसाधनको बढी दोष देखिन्छ”, उनले भने । चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको उनले उल्लेख गरे । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ । “पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ”, प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले भने, “ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।” कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !