पोखरामा ‘आलु महोत्सव’

आजभोलि

गण्डकी । एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ ।

पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् ।
किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ । कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन् । अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

“कृषकलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराउँछौँ”, उनले भने, “मुख्यगरी कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो ।”

क्लबका सचिव वसन्त श्रेष्ठले महोत्सव आयोजना हुन थालेपछि हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनेको उल्लेख गरे । “आलुका माध्यमबाट हेम्जालाई चिनाउने हाम्रो ध्येय हो, महोत्सवले आलु गाउँका रुपमा हेम्जालाई स्थापित गरिसकेको छ”, उनले भने, “कृषिलाई पर्यटनसँग जोड्न महोत्सवले टेवा पु¥याएको छ ।”

महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधिलाई पनि समेटिएको आयोजकले जनाएको छ । कलाकारहरुको साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदिले पनि मेलामा आकर्षण थप्नेछ ।

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले हेम्जा आलुका लागि उर्बर ठाउँ भएको बताए । उनले आलु महोत्सवले व्यावसायिक कृषिको महत्व अझै बढाएको उल्लेख गरेका छन् । महोत्सवलाई किसानको हितसँग जोड्नुपर्ने प्रमुख कडरियाले बताए ।

महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुँदै आएको छ । किसानले वार्षिक दस करोड बराबरको आलु उत्पादन गर्दै आएका छन् । महोत्सवले व्यावसायिक आलु खेतीतिर किसानलाई आकर्षित गरेपनि उब्जाउ जग्गा भने घट्दै गएको छ ।

केही वर्षअघिसम्म चार सय ५० हेक्टरमा आलु खेती हुँदै आएको थियो । घरघडेरीका नाममा खेतीयोग्य जमिन नासिँने क्रम बढ्दो छ । गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनजस्ता कारणले पनि आलुको उत्पादकत्व घट्ने गरेको कृषि विज्ञहरू बताउँछन् ।

हेम्जामा ‘एम.एस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातिका आलु बाली लगाउने गरिन्छ, एक हजार २० घरपरिवार कृषिमा आधारित छन् भने पाँच सय ४० किसानले व्यावसायिक आलु खेती गर्छन् ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !