पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

आजभोलि

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् ।

नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका बिरुवा रोपिएको छ । छन्त्याल किसान समूहमा आवद्ध किसानले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समूहमा आबद्ध किसानकै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक रवीन्द्र शर्माले जानकारी दिए ।

कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ । “उजाड जमिन हरियाली भएको छ”, प्राविधिक शर्माले भने, “बाँझो जमिनको उपयोग र किसानलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।” कार्यक्रमका लागि परियोजनाले रु १० लाख उपलब्ध गराएको थियो ।

बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणका लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानका लागि प्रयोग हुने चेन्सो मेसिन खरिद गर्न कूल रु १७ लाख ८५ हजार खर्च भएको छन्त्याल किसान समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिए ।

परियोजनाले उपलब्ध गराएको रु १० लाखबाहेक अपुग भएको रकम किसानबाट सङ्कलन गरिएको थियो । समूहमा एक सय १४ किसान आबद्ध छन् । किसानले एउटा बिरुवाको रु तीन सय ५० तिरेका थिए । जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीँ किसानले प्रयोग गर्ने प्राविधिक शर्माले बताए ।

वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाका अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ । बीजबिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए। बीजबिरुवाले पाँच वर्षपछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीका लागि उपयुक्त क्षेत्र हो ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !