नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

आजभोलि

त्रिशूली । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका हरिमानसिंह डङ्गोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गरे ।

नुवाकोट दरबार मौला अमालका द्वारे (सरकारका प्रतिनिधि ) महेन्द्रकुमार शाहीका अनुसार आज बिहान दोस्रो चरणको भोग खाएपछि बिहान ५ बजे भगवान्सँगको प्रत्यक्ष साक्षत्कारका रुपमा दैवी शक्ति स्वरुपाका धामीले सो भविष्यवाणी गरेका हुन् ।

“भोग बलि खाइसकेपछि आगामी वर्ष (विसं २०८० मा) मुलुकमा के हुन्छ भनेर गोप्य रुपमा भविष्यवाणी गरेको र त्यसलाई गोप्य रुपमा नै राष्ट्राध्यक्ष (राष्ट्रपति) समक्ष पठाइनेछ”, द्वारे शाहीले भने, “धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई शब्दमा उतारेर रष्ट्रिपतिसमक्ष पठाउने गरिएको छ । शुभ रहेमा हर्षोल्लास गरिनेछ भने अशुभ सङ्केत देखिएमा राष्ट्रप्रमुखका तर्फबाट राष्ट्रपतिले क्षमापूजा गर्न लगाउनुहुनेछ ।”

चैतशुक्ल पूर्णिमाका दिन शुभसाइत बनाई गुभाजुमार्फत विशेष अनुष्ठान र तान्त्रिक विधिबाट भगवान्मा चढाइएको धामीलाई जीवित भगवान् (भैरवी देवीको प्रतीक) का रुपमा लिने गरिन्छ । बिहीबार साँझ भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिरतर्फ प्रस्थान गरेका धामी–धमिनीसहितको लवालस्कर नुवाकोटबाट बट्टारबजार, पुरानोपाटी, इनारपाटी, बाणाचौतारो, तल्लो पीपलटार हुँदै देवीघाट पुगेको हो ।

परम्परादेखि नै भैरवीदेवीको रथयात्रा गराउँदै आएका लच्याङ्गी गुठियारहरुले बिहीबार साँझ भैरवीदेवीको रथयात्रा भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिर परिसर पु¥याएका थिए । अहिले देवीघाटमा रहेका धामीधमिनीसहितको भैरवीको रथयात्रा शनिबार अपराह्न नुवाकोट मण्डलातर्फ पु¥याइनेछ ।

धार्मिक विधिअनुसार गुठीको जग्गामै बनाइएको पदमार्गमा धामीले यात्रा गर्ने गरिए पनि उनको ढल्कँदै गएको उमेर (हाल ८५ वर्ष) र स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै केही स्थानमा सवारीसाधनमार्फत यात्रा गराइएको छ । जात्रालुहरुले धामीले जालपादेवी मन्दिर पुग्नुअघि एक किमी अगावै पृथ्वी स्मारक उद्यान नजिकै त्रिशूली नदीमा स्थान गरेसँगै उनी हिँड्ने बाटोमा शुद्ध र सफा सेतो कपडा ओछ्याएर जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गर्दै जालपादेवी मन्दिरसम्म पु¥याएका थिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा जबरजङ्गगण देवीघाटका नेपाली सैनिकहरुले निशान झण्डा र भैरवी सलामीको बढाई दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर हालेसँगै यो वर्षको सिन्दूरे जात्रा समापन हुनेछ ।

गत फागुपूर्णिमाको दिनदेखि सुरु भएको यो वर्षको भैरवी वर्ष बन्धनअन्तर्गत यही चैत २२ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै यहाँको वातावरण उल्लासमय भएको थियो । यो उल्लास चैत २५ गते सिन्दूर खेल्ने समयसम्म कायम रहन्छ । भैरवी वर्षबन्धन–२०७९ को धार्मिक विधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिए । “सरकारी जात्राका रुपमा रहेको सिन्दूरे जात्रा कहिलेदेखि सुरु भएको भन्ने यकिन मिति पाइन्नँ”, उनले भने, “विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबार निर्माण गरेर जात्रालाई विशेष रुपमा मनाउने व्यवस्था मिलाइएको देखिन्छ ।”

सिन्दूरे जात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्का रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोग बलि, राष्ट्रमा के हुन्छ भनेर उनले गर्ने भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाभरका सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा खेलिने सिन्दूर मुख्य अकर्षण र महत्वका रुपमा रहन्छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !