फिक्कल । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे ।
‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिए । उनका अनुसार किर्ना, भुसाना, झिङ्गा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ ।
उ्नले भने, ‘रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो । हालसम्म प्राप्त जानकारीअनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन् । सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।’
गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । सुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ । माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखापरेको थियो ।