बेलढुङ्गा ‘हाइकिङ’ लाई उत्कृष्ट

आजभोलि

गलेश्वर । चारैतिर घनाजङ्गल । जङ्गलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्न ढुङ्गा विछ्याइएको दुई सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फूलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखैँ अगाडि देखिने दृश्य हो यो ।

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको शिरमा छ बेलढुङ्गा ।

समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढु¬ङ्गामा वसन्तऋतुसँगै आन्तरिक पर्यटकको भीड लागेको छ । गतवर्ष सात हजार आन्तरिक पर्यटक बेलढुङ्गामा पुगे । यस वर्ष चैत २६ गतेसम्म १२ हजार बढी आन्तरिक पर्यटक आएका स्थानीय गणेश श्रीषले बताए ।

पदमार्ग र साइकल लेन बनेपछि हाइकिङलाई बेलढुङ्गा गन्तव्य बनेको स्थानीय रत्न जिसीले बताए । टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङलाई दैनिक सय हाराहारी पर्यटक आउछन् ।

बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरिका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षी देख्न सकिन्छ । ाथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाअध्यक्ष पदम पुनले बताए ।

बेलढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका–३ र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको ४० लाख बढी खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ । अहिले गुलजार बनेको बेलढुङ्गा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको छ ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ । यसवर्ष हिउँ परेन । तर सूर्योदय र दृश्यावलोकन गर्नेको कमी भने भएन ।

सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताइन् । “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ । हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजङ्गल, पशुपक्षी सबै देख्न पाइने । २२ जनाको टिम आएको रमाइलो भयो”, उनले भनिन् ।

बेलढङ्गा प्राकृतिक सौन्दर्या अवलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुङ्गा घुम्न आउनुभएका बेनीका दुर्गाराम सुवेदीले बताए । चैत, वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

दुईवर्ष अघिसम्म बेलढुङ्गाको फेदमा रहेको बँेसी चौतारीदेखि बेलढुङ्गाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुन्निदै बेलढङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहजभएको बेलढुङ्गामा हरेक वर्ष पुग्ने गर्नुभएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले बताए ।

म्याग्दीको सीमाना तर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म बेनीनगरपालिका–३ को करिब चार लाख र त्यहाँदेखि बेलढुङ्गासम्म दुवै वडाको दुई÷दुईलाखको गरी करिब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्न सकिन्छ ।

 

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !