कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

आजभोलि

नेपालगन्ज । बाँकेको दोस्रो ठूलो सहर मानिएको कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।

कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए ।

उनले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताए ।

मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ ।

केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गरे । सो अत्याधुनिक बसपार्कमा व्यावसायिक सटर भाडामा लगाउन नगरपालिकाले बोलपत्रको सूचना प्रकाशन गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सञ्चालन हुने र व्यवसायीलाई सहज र यात्रुलाई पनि सुविधा मिल्ने जानकारी दिए ।

बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ समेत स्वीकृत भएको छ । बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् ।

उक्त बसपार्क सञ्चालनका लागि नगरपालिकाका प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । बसपार्कमा करिब रु १६ करोडको लगानी रहेको छ ।

वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ । सो आधुनिक बसपार्क पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !