ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु

आजभोलि

धादिङ । छ वर्षीया रोशिका चेपाङलाई विद्यालय खाली खुटृा जानुपर्दा सधैँ चिन्ता हुन्छ । मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी उनीसँग जुत्ताचप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडाबाहेक केही छैन ।

हजुरआमाले ज्याला गरेर घरमा ल्याएको दिन खाना खान पाउने रोशिका बाटो हिँड्दा पनि डराइडराइ अरुले गिज्याउँछन् कि भन्न डरले लाज मान्दै जाने गर्छिन् । गजुरी गाउँपालिका–६ श्यामैडाँडामा रहेको जनचेतना आधारभूत विद्यालयको कक्षा २ मा भर्ना भएकी रोशिकालाई आमाले चार वर्षअघि छाडेर अर्को विवाह गरिन् । बाबुले पनि छोरीलाई बेवास्ता गरेकाले मामाघर बस्दै आएकी उनी विद्यालय जानका लागि पनि सङ्घर्ष गरिरहनुपरेको छ ।

अर्की बालिका सपना चेपाङको पनि अवस्था उस्तै छ । कक्षा २ मा भर्ना भएकी उनलाई हजुरआमा सोनिताले विद्यालयमा भर्ना गराएकी छिन् । सपनाकी आमाले पनि चार वर्षअघि घर छाडेर हिँडिन् । बाबुले अर्को विवाह गरेकाले हजुरआमाले ज्लाला मजदुरी गरेर उनलाई हुर्काए पनि सहजरुपमा पढाउन भने कठिन हुँदै आएको छ ।सोनिताले नातिनी सपनालाई अरु बालबालिकाको जस्तै आवश्यक लुगाफाटा किनिदिन सकेकी छैनन् । साहूको बारीको अधियाँ र ज्यालाले बल्लबल्ल खान पुग्ने भएकाले नातिनी पढाउन कठिन भएको उनको गुनासो छ ।

कक्षा १ मा भर्ना भएकी नानु चेपाङलाई पनि आमाले छाडेर हिँडेपछि मामाघरको हजुरआमाले ज्यालामजदुरी गरेर विद्यालय पठाएकी छिन् । आफूले पढ्न नपाएर दुःख पाएको विगत संझदै यिनले पढेर केही सुख पाउँलान् कि भनेर आधा पेट खाएर भए पनि नातिनी पढाएको हजुरआमा माइली चेपाङ बताउछिन् ।

हजुरआमाले नै पढाउँदै आएका यस्ता सात बालबालिका त यस विद्यालयमा अभिभावकविहीन भएर कष्टपूर्ण तरिकाले विद्यालय आउने गरेको पाइएको छ । एक सय २० घर चेपाङ समुदायको बसोबास भएको तल्लो र माथिल्लो श्यामैडाँडावासी अति गरिब छन् । विद्यालयमा आउने आधाभन्दा बढी विद्यार्थीले विद्यालय पोसाक र जुत्तासमेत लाउन सक्ने अवस्था नभएको विद्यालयका शिक्षक कमला अधिकारी उल्लेख गर्छन् ।

कक्षा ५ सम्म पढाइ हुने जनचेतना आधारभूत विद्यालयमा चेपाङ बालबालिकामात्र अध्ययन गर्छन् । अन्यत्र विद्यालयमा विद्यार्थी नआउने समस्या भए पनि यस विद्यालयमा ७१ बालबालिका भर्ना भइसकेको प्रधानाध्यापक राधा कँडेल बताउछिन् ।

  • १५ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !