छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

आजभोलि

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् ।

विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।

पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ ।

मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।

पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उनले बताए । अहिले पानीले भिजेका पुस्तकबाट पानी सुकाएर पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ ।

उनले बजेट कार्यान्वयनका लागि परिषदबाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ ।

पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् ।

विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ ।

पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो । पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यवसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आबद्ध छन् ।

समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क रु तीन सय मात्रै रहेको छ ।

पुस्तकालयले वार्षिक रु डेढ लाख तिर्दै आएको भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक रु छ लाखको हिसाब गरी अपुग रकम बक्यौतामा राख्दै आएको छ । समाजले प्रति स्क्वायर फुट रु १८ मा ७५ प्रतिशत छुट पाएकामा हाल परिषद्ले छुट नदिने जनाएको छ । पुस्तकालयले हाल जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ ।

पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थित रूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाडौँ महानरपालिकालाई प्रस्ताव पत्र पठाइ आग्रह गर्दै आएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रशु अर्यालले हालै पुस्तकालयको भ्रमण गरेका थिए तर यसबारे महानगरले कुनै निर्णय गरिसकेको छैन । पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक रु ७०÷८० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ । हाल पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् ।

सामुदायिक पुस्तकालयलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताए ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसकेका छन् ।

पुस्तकालयमा गत महिना संयुक्त अरब इमिरेट्स (युएइ) का नेपालस्थित राजदूतले भ्रमण गरी आफ्नो मुलुकसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिएका थिए ।

  • १९ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !