काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सरकारसँग भएका सहमति पूरा नहुने भएपछि फिर्ता लिन लागेको महामन्त्री केशव झाले जानकारी दिए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री झाले भने हामीले सरकारलाई दिएको समय सकियो । छठपछि फिर्ता लिने भनेका थियौ । समय सकिन लाग्यो । यही हप्ता फिर्ता लिन्छौं ।
झाले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराउँदै भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं। तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो तर अहिलेसम्म केही अघि बढेको छैन् ।
गठन भएको ९ महिना बितिसक्दा पनि प्रम ओलीले संविधान संशोधनको लागि आजसम्म इमान्दार प्रयत्न नगरेको भन्दै उनले भने, सरकारले साँच्चिकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दश दिनभित्र संशोधन हुन्छ। तर, सरकारले हामीलाई बारम्बार धोका दियो । अब त हाम्रोपनि धैर्यताको बाँध टुट्यो।
प्रदेश नम्बर २ ले अब आन्दोलन गर्ने र त्यसले नै संविधान परिर्वतन गर्न बाध्य पार्ने झाले बताए ।