आवुधावी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रियामा गर्दै राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिने बताएका छन् । उनले भने मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं । तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।
उनले जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं । अहिले हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।
ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु । तपाईहरुले जति पनि कुरा उठाउनु भएको छ । त्यसलाई म कुटनीतिक र राजनीतिक तबरले सम्बोधन गर्नेछु, त्यसमा तपाईहरु विश्वस्त हुनुहोला ।
भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।