प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन

आजभोलि

काठमाडौँ । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो ल्रिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिए ।

सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, ¥याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आवमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गत चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई हालसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३ हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ ।

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभागबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिलगायतका अन्य सरोकारवालासँग रोग रोकथाम तथा नियन्त्रणका लागि पटकपटक समन्वय र सहकार्य गरिएको महानिर्देशक काफ्लेले जानकारी दिए । विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालासँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको छ ।

सो टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने कार्य गरेको छ । परिचालित टोलीले सबै प्रदेशमा थप समन्वय र सहकार्यका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेको छ । हाल रोगको प्रकोप देखिएका स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिहरू तथा खोप आपूर्तिका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्य भइरहेको छ ।

त्यस्तै, लामखुट्टे, झिङ्गा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न पशुधनीलाई विभागले अनुरोध गरेको छ । रोग देखा परेको क्षेत्रमा सङ्क्रमण हुनबाट बचाउन पशु स्वास्थ्यकर्मीहरूलाई प्राथमिक उपचारबारे जानकारी गराइएको छ ।

यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीको लागि अनुमति दिइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ । मन्त्रालयले चालु आवमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी स्थानीय तहमा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ ।

दीर्घकालीनरूपमा यो रोग नियन्त्रणका लागि आवश्यक खोप नेपालमा नै उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वय भइरहेको महानिर्देशक काफ्लेले जानकारी दिए । खोप उत्पादनका लागि आवश्यक सीड तथा प्रविधि भारतसँग माग गर्न उच्च राजनीतिकस्तरबाट कूटनीतिक पहल जरुरी रहेको विभागको ठहर छ ।

प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !