काठमाडौं । ‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुआत गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ । यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिए ।
उनले भनिन्, ‘यो प्रतियोगिता सबैका लागि होस् भनेर हामी लचिलो भएका छौँ । यसपटक हामीले सौन्दर्यको सीमा हुँदैन भन्ने विश्वासका साथ विवाहित र आमाहरूलाई समेत सहभागी गराउने छौँ ।’
उनले उचाइ वा तौल स्वीकारेर ट्रान्सवुमन, गैरआवासीय र विवाहितसँगै आमालाई समेत सहभागी गराइने निर्णय सौन्दर्य प्रतियोगितामा पहिलोपटक भएको जानकारी दिइन् । ‘सबै आकारका महिला, देशबाहिर रहेकालाई देशको प्रतिनिधित्व गर्ने अवसर र विवाहित भएर पनि सपना देख्न नछोड्नु भन्ने उद्देश्य हाम्रो हो,’ निर्देशक श्रेष्ठले भनिन्। यस संस्करण मापदण्डहरूलाई चुनौती दिँदै, अवरोधहरू तोड्दै, परिवर्तन र प्रेरणाको प्रकाशको रूपमा चम्कने उनको विश्वास छ ।
यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन् । गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ ।