काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व युवाहरुको हातमा रहेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा आयोजित युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बुले यस्तो बताएका हुन् । साथै उनले सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने बताए ।
युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने,‘सबै मिलेर मात्रै देश विकास हुन्छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन भएका छन् तर जनताको आधारभूत आवश्यकता पूर्ति हुन सकेनन् भन्ने जुन खालको गुनासो छ । त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’
संविधानको माध्यमबाट थुप्रै कुराहरू सम्बोधन भइसकेको भन्दै युवा पुस्ता धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनकाे भनाई थियाे । ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ । सबै युवाहरूलाई लिएर अगाडि बढ्न, युवाको कुरा सुन्न तयार छौ,’ उनले भने,‘ त्यस कारण निराश नभईकन यो देशको नेतृत्व हामीले गर्ने हो । विकास गर्ने हो । त्यस कारण दिगो विकास प्राप्तिका लागि जस्तो परिस्थितिमा पनि मिलेर जाने सङ्कल्पलाई सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने,‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढी रहेका छौँ । युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन् । त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु ।’