डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाकी १२ वर्षीया बालिका गाउँकै एक युवाबाट पटकपटक बलात्कृत भएको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घटना खुल्न आएको प्रहरीले जनाएको छ ।
बालिका आइतबार उपचारका लागि आफन्त सहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना सावर्जनिक भएको हो ।
प्रहरीले अनुसन्धान गर्दा बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताएका छन् ।
गत वर्ष भदौमा काका नाता पर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ रहेको छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी वरिष्ठ नायव निरीक्षक करवीरसिंह ऐरले बताएका छन् ।
बालिका वृद्ध हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुन सक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।