झापा । बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल झापाबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङबाट बरामद गरेको छ । टोलीले ७ वटा मोटरसाइकल बरामद गरेर झापा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बालकुमार मगरसहित बरामद गरिएका मोटरसाइकल सार्वजनिक गरेको छ ।
गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गरिएको अनुसन्धानपछि झापाबाट चोरी गरेर ताप्लेजुङ लगेर बिक्री गर्ने गरिएको पत्ता लागेको थियो । ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरूले कावेलीसम्म पुर्याइदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको पत्ता लागेको छ ।
झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको समेत खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।