अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इराकको आकस्मिक भ्रमण गरेका छन् ।
ट्रम्प प्रशासनले इराक र सिरियामा रहेका अमेरिकी फौजलाई इरानी सैन्यले उच्च जोखिममा पारेको बताएको भोलिपल्ट उनको भ्रमण भएको हो । अमेरिकी विदेशमन्त्रीको अघोषित इराक भ्रमण रात परेपछि र उच्च सुरक्षा व्यवस्थाबीच भएको थियो ।
विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्व वर्गसँग भेट्नु रहेको बताए । पोम्पेओले ’छिमेकी इरानको प्रभावबाट मुक्त सार्वभौम र स्वतन्त्र इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन’ चाहेको जानकारी पनि दिए ।
बर्लिनको पूर्वनिर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताएका थिए । उनले अधुरै रहेका व्यापार सम्झौताहरूबारे पनि आफूले कुराकानी गर्न चाहेको बताए ।
ती विषयले इराकलाई इरानी ऊर्जामाथि रहेको उसको निर्भरताबाट मुक्त पार्न सघाउने उनको भनाइ थियो ।