इरानी राष्ट्रपति हसन रुहानीले अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण इरान अभूतपूर्व दबाबमा परेको बताएका छन् ।
रुहानीका अनुसार अमेरिकाले कडा तुल्याएको आर्थिक प्रतिबन्धका कारण उत्पन्न आर्थिक अवस्था सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धताकाको भन्दा खराब भएको छ ।
गत साता अमेरिकाले खाडीमा लडाकू पानीजहाज तथा युद्धपोत खटाएपश्चात् इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । राष्ट्रपति रुहानी देशभित्र निकै राजनीतिक दबाबमा छन् । उनले आर्थिक प्रतिबन्धसँग जुध्न देशभित्र राजनीतिक एकताको आह्वान गरेका छन् ।
अमेरिका र इरानबीच तनाव चर्किएका कारण सन् २०१५ मा गरिएको महत्त्वपूर्ण परमाणु सम्झौताको भविष्यमाथि प्रश्न चिन्ह उठेको छ । त्यतिखेर इरानले संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य तथा जर्मनीसँग उक्त सम्झौता गरेको थियो ।
अमेरिकाले आर्थिक प्रतिबन्ध पुनः लगाएपछि इरानले अन्य देशले पनि प्रतिबन्धमा अमेरिकालाई साथ दिए उसले परमाणु गतिविधि फेरि जारी राख्ने सङ्केत दिएको छ ।