अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्याउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाउँदै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले अमेरिकी सञ्चार सञ्जालहरूलाई उनले भन्ने गरेका ’विदेशी प्रतिद्वन्द्वीहरू’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन् । त्यसक्रममा ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाउने एक कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन् ।
अमेरिका र अन्य केही देशहरूले चीनको ह्वावेईले उत्पादन गरेका उपकरणहरूको प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्छ भन्दै चिन्ता व्यक्त गरिसकेका छन् । ह्वावेईले चाहिँ आफ्ना उत्पादनले सुरक्षा खतरा उत्पन्न गर्ने भन्ने आरोपहरू अस्वीकार गर्ने गरेको छ ।
अमेरिका अहिले चीनसँग चर्किँदो व्यापार युद्धमा समेत मुछिएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले चाहिँ ह्वावेई र ऊसँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालो सूचीमा राख्न लागिएको बताएको छ ।
ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यका अनुसार ट्रम्पको आदेशले “सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने“ उद्देश्य लिएको जनाइएको छ ।