प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ क अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ ।
नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो । हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य तोकिएको छ । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्नेछन् । छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह मन्त्रालयस्तरीय समितिको संयोजक तोकिएका छन् । ।
यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की उर्जा संयोजक भएका छन् । उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालस्तरीय समितिको संयोजक तोकिएका छन् ।
छाया सरकारको खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।
यस्तै भूमिसुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्री तोकिएको छ ।