सगरमाथाको उचाइ नाप्नका गएको नापी विभागको टोली सगरमाथाको शिखरमा पुगेको छ । विभागको टोली बुधबार बिहान तीन बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ ।
विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएको थियो । टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेका विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए । उनीहरु फर्केर साउथकोल आइसकेका छन् ।
बिहीबारसम्ममा आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ । शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध कायम गरिएको छ । अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्नेछन् ।
त्यसका लागि कम्तिमा अझै ६ महिना लाग्ने छ । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको थियो ।