भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेको छ ।
पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ ।
राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन । तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् ।
छ हप्ता लामो निर्वाचन प्रकृयामा छ करोडभन्दा बढी मतदाताहरू सहभागी भएका थिए । यो आम निर्वाचनलाई प्रधानमन्त्री मोदीको हिन्दू राष्ट्रवादी भाजपाका लागि जनमत संग्रहका रूपमा पनि हेरिएको थियो । मोदीले मतदानपछिको प्रारम्भिक मत सर्वेक्षण एक्जिट पोलका अनुमानहरूभन्दा पनि बढी मत हासिल गर्ने जस्तो देखिन्छ ।
र घोषणा भएका आंशिक नतिजाहरूको आधारमा हेर्दा उनको पार्टीले सन् २०१४मा प्राप्त गरेका भन्दा बढी मत हासिल गर्ने देखिन्छ । राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धनले एक सय भन्दा कम स्थान हासिल गर्ने अनुमान छ ।
भारतको संसदको तल्लो सदन, ५ सय ४३ सदस्यीय लोकसभामा, बहुमत हासिल गर्न कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ स्थान जित्नु पर्छ । सन् २०१४ मा, भाजपाले २८२ स्थान जितेको थियो । जुन त्यसअघिको ३० वर्षमा कुनै पनि राजनितिक पार्टिले हासिल गरेको सबैभन्दा ठूलो जित थियो।
आफ्ना साझेदारहरू सहित भाजपा गठबन्धनको संसदमा ३३६ स्थान थियो । ४४ स्थान मात्र जितेको कंग्रेसले सन् २०१४मा सबैभन्दा खराब हार बेहोरेको थियो। संसदमा उक्त पार्टीको गठबन्धनको ६० स्थानमात्र थियो।