प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ ।
नेपाली काँग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।
नेपाली जनताको चाहना विपरीत बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । सरकारले बजेटलाई वितरणमुखी शैलीमा ल्याएको टिप्पणी गर्दै उनले बजेटले मुलुकलाई जनताले चाहेको जस्तो विकसित र समृद्ध बनाउन नसक्ने दाबी गरे ।
रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेटको सुरुवातमै एक तिहाइभन्दा ठूलो हिस्सा ऋणको भार थोपर्ने गरी आएको उनले बताए ।
उनले सांसदहरुका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको पनि बताए ।