मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप जनाएको छ ।
हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा बौद्धमार्गी छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना दिएको र मनोमानी ढङ्गले मानिसहरूलाई पक्राउ गरेको उल्लेख छ । सेनाले गरेको गतिविधिलाई एमनेस्टीले युद्ध अपराधको सङ्ज्ञा दिएको छ । सेनाले भने उक्त आरोप अस्वीकार गरेको छ ।
यस अघि सन् २०१७ मा म्यान्मारको सेनाले रोहिंगा मुस्लिममाथि ठूलो दमन गरेको तथा मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएको थियो । एमनेस्टीले सार्वजनिक गरेको रिपोर्टका अनुसार ’अन्धाधुन्ध आक्रमण’ मा सर्वसाधारणहरू मारिएका र घाइते भएका छन् । एमनेस्टीले तयार पारेको प्रतिवेदनमा सातवटा गैरकानुनी आक्रमणमा परेर १४ जना सर्वसाधारण मारिएको र २९ जना घाइते भएको बताइएको छ ।