अमेरिकाको भर्जिनिया राज्यको एक सरकारी कार्यालयमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
घटनामा एक प्रहरीसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । आरोपित आक्रमणकारी भर्जिनिया बिच सिटीमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको भनाई छ । आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफी कारवाहीको क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ ।
अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले बताएका छन् ।
प्रहरीका अनुसार घटनामा एकजनाको मात्रै संलग्नता थियो । ह्वाइट हाउसका प्रवक्ताका अनुसार घटनाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।
गोली प्रहारका घटनाको आँकडा राख्दै आएको एक अमेरिकी वेबसाइट ’गन भायोलेन्स अर्काइभ’का अनुसार सन् २०१९ मा मात्रै सार्वजनिक स्थलमा १ सय ५० भन्दा बढी गोली प्रहारका घटना भइसकेका छन् ।