नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन् ।
नेपाली कांग्रेस रौतहट–काठमाडौं समाजले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए ।
उनले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताए । पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो ।
उनले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे । जनचाहना अनुसारका काम सरकारले गर्न नसकेको भन्दै उनले सरकार भ्रष्टाचारमुखी भएको आरोप लगाए । ््
सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उनको जिकिर छ । गलत कार्यशैलीका कारण वर्तमान सरकार पाँच बर्ष नटिक्ने उनको भनाइ रहेको छ ।