प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागेको बताएका हुन् ।
सरकार शताब्दीऔँसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ । विगतमा पाखा पारिएकाहरूलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ ।
आजको एक्काइसौँ शताब्दीमा पनि सामन्तवादको अवशेषका रूपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछूतको दुर्व्यवहारप्रति कुनै सहिष्णुता नदर्शाइने उनको भनाइ छ । ‘
प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरेका छन् ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रूपमा सुनिश्चित गरिएको बताइएको छ ।
नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रूपमा पनि ठोस प्रतिबद्धता जनाएको सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले यस दिवसले जातीय विभेद र छुवाछूतको दुर्व्यवहारलाई रत्तिभर नसहन तथा हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।