प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश दिँदै उनले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गरे ।
मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुनुपर्ने सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिमतर्फ सजग रहन उनले अनुरोध गरेका छन् ।
विकास र संरक्षणबीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुने भन्दै उनले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस खालको प्रगति दिगो र सबैका लागि उपयोगी नहुने उक्त सन्देशमा उल्लेख गरेकोे छ ।
“प्रत्येक नेपाली नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने आफ्नो मौलिक हकको सुनिश्चितताका लागि आआफ्नो जिम्मेवारी पूरा गर्न अझ तत्परता र क्रियाशीलताका साथ योगदान गर्नुहुनेछ भन्नेमा समेत म विश्वस्त छ”, सन्देशमा भनिएको छ ।
वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्ने उनको भनाइ छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत सबैले वातावरणको स्वच्छता कायम गर्नुपर्ने सन्देशमा भनिएको छ ।