मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा १५ जनाको ज्यान गएको छ । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त भएका छन् ।
मुम्बईको पहाडी भेगमा अवस्थित एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको ज्यान गएको र ७० जना घाइते भएका बताइएको छ । मृतक तथा घाइतेहरूमा मलाड क्षेत्रको एक निर्माणस्थलमा खटिएका मजदुरहरूको रहेको बताइएको छ । पानी पर्ने क्रम नरोकिएपछि महानगरका विभिन्न क्षेत्र डुबानमा परेको छ ।
वर्षा न रोकिएकाले नगर अधिकारीहरूले महानगरवासीलाई घरभित्रै रहन आग्रह गरेका छन् । यातायात र अन्य सञ्जाल अस्तव्यस्त हुन पुगेका कारण अधिकारीहरूले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् । लगभग हरेक वर्ष मनसुनी वर्षाको बेला मुम्बईमा डुबानको समस्या दोहोरिने गर्दछ ।
विज्ञहरूका अनुसार जथाभाबी निर्माण र खराब शहरी योजनका कारण मुम्बईमा डुबानको समस्या जटिल बन्ने गरेको हो । भारतको पश्चिम तटमा अवस्थित मुम्बईलाई सातवटा टापु जोडेर बनाइएको महानगर मान्ने गरिएको छ । शहरको एकातिर समुद्र छ भने अर्कोतिर खाडी क्षेत्र छ जहाँ पानी जमिरहेको हुन्छ । कुनै बेला यी द्वीपहरूमा २२ वटा पहाड रहेको विश्वास गरिन्छ।