लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला हुँदा कम्तीमा ४० जना मारिएको अधिकारीहरूले बताएका छन् । आक्रमणमा थप ८० जना घाइते भएका छन् ।
हमला राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो । मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासीहरू रहेको बताइएको छ । पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ ।
लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ । आपत्कालिन सेवा सम्बन्धी निकायका एकजना प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए ।
अहिलेसम्मको मृतकको सङ्ख्या ’प्रारम्भिक’ भएकोले थप मानिसहरू मारिएका हुनसक्ने ती प्रवक्ताले बताए । संयुक्त राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधवारको हमलाका लागि स्वघोषित लिबियन न्यासनल आर्मी (एलएनए) लाई दोष लगाएको छ ।
शक्तिशाली खलिफा हफ्तरले नेतृत्व गरेको एलएनएले हमला भएको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको लिबियाको सरकारप्रति बफादार फौजविरूद्ध लडिरहेको छ।