करिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको टोली पठाउने भएको छ ।
१८ जना मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक दङ्गासमेत भएका छन् । राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।
हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरिएको रात्रिकालीन सैन्य कर्फ्यु छैठौं रातमा प्रवेश गरेको छ । तर कर्फ्यू लाग्ने समय भने उल्लेख्य रूपमा घटेको छ । राजधानी स्यान्टियागोमा दशौँ हजार मानिसहरू सहभागी भएको प्रदर्शन शान्तिपूर्ण थियो ।
सुरक्षा फौजले गरेका भनिएका हिंसाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। मेट्रोरेलमा बढाइएको भाडा दरबाट उठेको आक्रोशमा अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत जोडिएर आमहड्तालमा परिणत भएको छ ।
राष्ट्रपति सेबास्टियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे तर त्यो पर्याप्त नभएको प्रदर्शनकारीले बताएका छन् ।