पोखरा । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने जिकिर गरेका छन् ।
६५ वर्ष पुगेकालाई बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्द उनले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताए ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । वितरण मात्र नभई वितरण गर्न सक्ने ढुकुटी बढाउन कांग्रेसले काम गरेको छ कि छैन हेनुपर्छ ।’
नेपाली कांग्रेसले २०५६ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा पनि विरोध भएको भन्दै शर्माले अहिले राजश्वमा ३० प्रतिशत योगदान पुगेको जिकिर गरे ।
तत्कालिन अवस्थामा काँग्रेसले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा एमालेले ६ महिना संसद अवरुद्ध गरेको थियो । अाज मूल्य अभिवृद्धि कर (भ्याट) का कारण देश प्रशासनिक खर्चमा अात्मनिर्भर भएको छ ।