विख्यात अमेरिकी व्यंग्यकार जर्ज कार्लिनले भनेका छन्ः डन्ट आग्र्यु विथ अन इडियट । दे विल ओन्ली ब्रिङ यु टु देअर लेवल एण्ड बिट यु विथ एक्सपेरिएन्स । अर्थात्, मुर्खसित वादविवाद नगर, उनीहरुले पहिले तिमीलाई आफ्नो हैसियतमा झार्नेछन् अनि अनुभवको मदतले तिमीलाई हराउनेछन् ।
अहिलेसम्म नेपालको राजनीतिमा शिक्षित युवा पुस्ताको उदासीनताको रहस्य यही हो । अब्बल युवाहरुले राजनीतिलाई भ्रष्टाचार र अनैतिकताको फोहर नाली सम्झेर त्यसबाट बच्ने कोशिस गरे । भविष्यप्रति चिन्तित धेरै युवाहरु त्यसमा हाम नै फालेनन् किनकि उनीहरुलाई आफू पनि अहिलेका नेताहरुजस्तै बन्ने डर थियो । नेताहरुले पहिले आफूलाई उनीहरुजस्तै बनाउलान् अनि अनुभवको मदतले हराउलान् भनेर युवाहरु डराए ।
तर समयले के देखायो भने राजनीतिको फोहर नाली राजनीतिमा मात्रै सीमित रहेन । हेर्दाहेर्दै त्यसले समाजको हरेक हिस्सालाई प्रदुषित र दुर्गन्धित पार्यो ।
कमरेड खड्ग प्रसाद ओलीज्यू,
यहाँको उदारतालाई मान्नै पर्छ । डा गोविन्द केसीलाई राजनीतिमा आउन निम्तो दिनुभएछ । त्यो निम्तो उहाँको अभियानमा संलग्न हामीजस्ता निमुखा नागरिकहरुलाई पनि होला भन्ने सम्झेर यो प्रत्युत्तर दिंदैछु ।
अफरका लागि धन्यवाद । म अहिले पनि राजनीतिमै छु । किनकि राजनीति भनेको कुनै पार्टीको झण्डा र झोला बोकेर हिंड्नु मात्रै हैन । हामीजस्ता नागरिक चाहेर पनि राजनीतिबाट अलग हुने अवस्था छैन ।
तपाइँहरुलाई चन्दा दिएकै भरमा अरबौंका ठेक्कापट्टा लिने (अनि काम वर्षौं अधुरो छाडेर यहाँहरुकै तर्फबाट चुनाव लड्ने) मानिसहरुबाट काममा लदाएर पैसा नदिएर ठगिएका चेपाङ युवा होउन् वा यहाँहरुले शिक्षा र रोजगार भताभुंग पारेका कारण खाडीको मरुभुमिमा पुगेर दलालहरुबाट ठगिन विवश युवा होउन्, यो देशको राजनीतिबाट कोही पनि चाहेर पनि अलग हुन सक्दैन ।
यहाँको निम्तो सक्रिय दलीय राजनीतिमा आउनका लागि भएको देखिन्छ । म त्यसमा समेत आउन तयार छु । खाली एउटा शर्त छः तपाइँ म र मजस्तै राजनीतिक चेत भएका तर दलीय राजनीतिमा नभएका अरु नागरिकहरुले यो देशको लोकतन्त्र थाम्न निभाएको भुमिकामा आउनोस् ।
हैन, तपाइँहरु पनि आउनोस्, सबै मिलेर दलीय राजनीति नै गरिराखौं, अरु काम यसै रहन दिऔं भन्नुहुन्छ भने त्योचाहिं स्वीकार्य छैन । किनकि ११ जनै मिडफिल्डर भएको फुटबल टिम हुन सक्दैन, गाडीभरका मानिस सबै चालक हुन सक्दैनन् । पानी जहाजमा सवार सबै क्याप्टेन हुन सक्दैनन् ।
लेखकको वेवपेजबाट साभार