–योगीशकृष्ण
आज बिहान बलदेवको फोन आयो । प्रायः सँधै राति फोन गर्ने बलदेवले बिहान फोन ग¥यो । हिजो असार १५ रोपाइँको रमाइलोमा लाग्यो होला । थकाइ लागेर फोन नगरेको हुन सक्छ । होइन रहेछ ।
सोधेँ “बलदेव हिजो दही च्यूरा खाइयो होला । रोपाइँ पनि भयो होला । यस पटक धान राम्रै फल्ला नि त ।”
“खोइ दाजु , बलदेवले भन्यो “ खेतमा फल्ने लक्षण त देख्दिन । उत्पादन त राम्रै होला । ”
उसको जबाफ सुनेर मलाई अचम्म लाग्यो । खेतमा नफल्ने तर उत्पादन भने राम्रै होला अरे ।
“के भनेको यस्तो ”?
“हो दाजु ,” उसले जबाफ दियो “ मेरो त हिजोको दिनमा दुई मुठ्ठी बिउ पनि खेतमा रोपिएन । बिउ जति सब समापत भयो ।”
“के भन्छौ यार? बिउ सकियो , रोपाइँ पनि भएन । रोपाइँ नै नभएपछि बिउ कसरी सकियो । उत्पादन कसरी राम्रो हुन्छ त ? ”
खुइय्य गर्दै उसले जबाफ दियो “ तपाइँलाई त थाहै छ दाजु म अलिकति पोलिटिकल टाइपको मानिस पनि भइसकेको छु । चुनावमा टिकटको जोगाड पनि हुन लागेको थियो जसको लागि म दुइटा भैँसी र दुई कठ्ठा खेत दाउमा लगाउन तयार थिएँ । तर यो भन्दा पाँच गुना खर्च गर्नेले टिकट पायो , चुनाव जित्यो ।”
धानको कुरा भइरहेको थियो , अब के टिकटको कुरा गर्दैछ । मैले उसलाई सम्झना गराएँ “हैन , हामी धान रोपाइँको कुरा गर्दै थियौँ , अब तिमी चुनाव टिकटको कुरा गर्दैछौँ ।”
बलदेव हाँस्यो “हे दाज्यु , तिमी त यसरी भडकिरहेका छौ कि जसरी रेलको कुरा सुन्नासाथ काङ्ग्रेसी नेता भडकिन्छन् । अलिकति धैर्य त गर ।मेरो कुरा सुन पहिले । हिजो बिहान हाम्रो वडा सदस्य आउनु भयो र भन्नु भो कि आज धान दिवस मनाउने हो , तिम्रो खेतमा । मनमनै गमेँ , मेरो खेतको भाग्य चम्किने भो । वडा सदस्यको अनुरोध अनुसार पाँचदश जना अगुवा पछुवा लिएर गएँ । एक पाँज बिउ उखेलेँ । केटाहरूले के ग¥यो त धानको बिउको माला बनाइलियो र सबको गलामा लगाइदियो । लाग्दथ्यो कि सब धान दिवसका बेहुला हुन् ।धन्न भाग कि एक आध मुठ्ठी बिउ बाँकी राखेका रहेछन् । त्यही रोपेर फोटो तोटो खिच्न सकियो । नभए त्यो पनि ठनठन गोपाल हुने थियो ।”
“अनि”
“त्यसपछि हात मुख धोएर घर आयौँ । दुईटा गुजराती भैँसीवाला घर हो । दूध दही त थियो नै । मैले दही चिउरा खानका लागि अनुरोध त गर्नै प¥यो । उनीहरूले भने कि एउटा कचौरामा दही ल्याऊ र सानो प्लेटमा चिउरा । त्यसलाई बीचमा राखेर सबले फोटो खिचे । फटफट फेसबुकमा पनि राखिहाले ।”
“ए”
“के ए भन्छौ । असली पुराण त अब शुरु हुन्छ । उनीहरूले भने अब यहीँ खाना खाने हो । सोचेँ , केही फरक पर्दैन । दूध , दही , घिउ र थोरबहुत तरकारी आफ्नै उत्पादन छ । भइ हाल्छ । रे बाबा रे बाबा । धुत , धान दिवसमा पनि यस्तो खाना खाने हो । सबैले भने – मुर्गा तुर्गाको व्यवस्था गर्नु पर्छ । इज्जतको सबाल । बजार गएर मुर्गा ल्याएँ । पकाइ तुल्याई गरेर सबलाई ुखुवाएँ ।”
“ए ”
“के ए भन्छौ । पूरा कथा पुराण त सुन । अहिलेसम्म त केही भएन । जे भयो त्यसपछि भयो । खानासाना खाएर हामी बसेको के थियौँ । पल्लो गाउँको पत्रकार आयो । आफन्तै मानिस थियो । हाम्रो काकाको ससुराको भाइको सालोको जेठान थियो । कुटुम्ब । एक प्रकारले मेहमान । आजकाल कति टेलिभिजन च्यानल छ । ऊ लोकल टेलिभिजनको पत्रकार हो । सानो तिनो क्यामेरा किनेको छ । उसले भन्यो कि धान दिवसको समाचार बनाउन यहाँ आएको ।
उसको कुरा सुन्ना साथ वडा सदस्य त दुई हात उफ्रियो “ असली धान दिवस त अब मनाउने हो कि । बिना पत्रकारको कुनै दिवस हुन्छ । ” उसले धान उत्पादन वृद्धिमा सञ्चारमाध्यमको भूमिकाको महत्वबारे सानोतिनो भाषण पनि छाँटिदियो ।
टेलिभिजन पत्रकार गाउँमा आएको छ , गाउँभर हल्ला भइगयो । मानिसहरू जम्मा भए । एक छिन त दिल खुस भयो – म पनि मानिस त सानो होइन । पहलमानी जितेर आउँदा पनि यत्रो भीड मेरो घरमा भएको थिएन , जति अहिले भयो । अब फेरि शुरु भयो धान दिवसको कायक्रम । सौ पचासको हुल हिँड्यो खेततिर । मेरो दुई बिघाको लागि तयार गरेको बिउ त एकछिनम सब मिलेर उखेले । कसैले माला बनाएर गलामा लगाए , त कसैले शीरमा बाँधे त कोही कोहीले कानमा लगाए । वातावरण हरियाली भयो । वडा सदस्यले खेतमा पनि भन्नु भयो “ अब यो देशमा कृषि क्रान्ति हुन्छ । देश समृद्धितर्फ लम्किसक्यो । सम्बृद्धि र विकास हाम्रो घरदैलोमा आइपुगिहाल्छ ।”
यस पटक त धानको बिउ खेतमा पर्दा पनि परेर । मानिसहरूको गला, कान र टाउको रोपिएको थियो । घर फर्किएर फेरि भोजभातको व्यवस्था भयो । कुटुम्ब, त्यसमाथि पत्रकार आएको थियो । धन्न भाग घरमा एउटा बोको थियो , इज्जत जोगिहाल्यो ।
“अनि ”
“मलाई त के विश्वास छ दाजु कि मुुलुक अग्रगमनमा गइसकेको छ । धान खेतीमा नयाँ कुनै प्रयोग भइरहेको छ । उन्नत खालको खेती । खेतमा धान रोप्न नपर्ने । मानिसको गला , गमला , टेबलमा पनि रोप्न सकिन्छ । यसको फाइदा के छ भने न पानीको जरुरत न घामको । बाढीको डर पनि भएन , रौदीको मार पनि नपर्ने ।”
यो बलदेव मजाक गरिरहेको छ कि । गम्भीर छ , ऊ । बिलकुल मुलुकको हालतजस्तो उसको हाल छ ।