काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक विमोचन भएको छ । पौडेलद्वारा लिखित नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद नामक पुस्तक विमोचन भएको छ । नेपालका प्रथक राष्ट्रपति डा. रामवरण यादवले विमोचन गरेका थिए ।
उनलेले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवाद अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिनुभयो । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उहाँको आग्रह थियो ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताउनुभयो । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उहाँले विचारकै प्रधानता हुनुपर्ने बताउनुभयो । काङ्ग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उहाँको जोड थियो । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले काङ्ग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै काङ्ग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भन्नुभयो ।
नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काङ्ग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उहाँले जानकारी गराउनुभयो । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताउनुभयो ।