सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेकाे हो ।
सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।
बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् ।
उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ ।