काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी-नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा नेता बामदेव गौतमले फरक प्रतिवेदन राखेका छन् । उनले अध्यक्षद्वयको प्रतिवेदनमाथि असहमति जनाउदै फरक प्रतिवेदन पेश गरेका हुन् ।
आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको साङ्गठनिक एकीकरणको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने कामका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सरकार सञ्चालनको नौ महीनाका अवधिमा सरकारले गरेका काम कारवाहीका बारेमा समीक्षा र अब सरकारले गर्नुपर्ने कार्यदिशाका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।”
प्रतिवेदनमा राष्ट्रिय राजनीतिका बारेमा व्याख्या गरिएको छ । त्यस्तै राजनीतिक दलको भूमिकाका बारेमासमेत अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा चर्चा गरिएको उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठले केन्द्रीय सचिवालयले यसअघि गरेको निर्णयको अनुमोदनका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी आन्तरिक जीवनका बारेमा पनि प्रतिवेदनमा एउटै छुट्टै अंश तयार पारिएको छ ।”
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यका बारेमा धारणा राख्नुभएको थियो । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पार्नुभएको थियो ।
अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसर प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभूतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मकरुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभारा पूरा गर्न सामूहिक ढङ्गले पहल गर्नुपर्नेमा जोड दिनुभएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष र नेता गौतमले पेश गर्नुभएको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ ।
बैठकमा माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतमले अध्यक्षको कार्यशैली तथा प्रदेश कमिटिको बारेमा फरक मत राख्नेछन्् ।