कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा संलग्न दोषी उपर कारबाहीको लागि उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ जना बिरुद्ध उजुरी दर्ता गरिएको छ ।
निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्वको कसुर र प्रहरीले अभियुक्त भनि सार्वजनिक गरेका दिलिप सिंह विष्टका दाजु खड्ग सिंह विष्टले यातना कसुर अन्तरगत उजुरी दिएका छन् ।
विष्ट लगायतका संलग्न व्यक्तिहरुले प्रमाण नष्ट गरेको, झूटो विवरण तयार पारेको तथा निर्दोष व्यक्तिलाई यातान दिएको लगायतका कानुन विपरित कार्य गरेको भन्दै कारबाहीको माग राखी उजुरी दर्ता गरिएको छ । उजुरी यातना तथा सार्वजनिक न्याय विरुद्धको कसुर अन्तरगत रही दिइएको अधिवक्ता इन्द्र अर्याललले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सार्वजनिक न्यायविरुद्धको कसुर १२९ तथा यातना कसुर १२८ नम्बरमा दर्ता गरिएको जनाएको छ ।
उजुरीमा तत्कालिन एसपी डिल्लीराज विष्टसहित तत्कालिन डिएसपी ज्ञानबहादुर सेट्टी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई हरिसिंह धामी, असई रामसिंह धामी, प्रहरी हवल्दार चाँदनी साउद, प्रहरी निरीक्षक जगदिश भट्ट, केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी गरी ८ जनालाई प्रतिवादी बनाएर उजुरी दिएको हो ।
आठै जनालाई मुलुकी फौजदारी संहिताको दफा ८९, ९२, ९३ र ९९ वमोजिमको कसुर अपराध गरेकाले प्रतिवादीहरु उपर अनुसन्धान गरि हदैसम्मको सजाय गरि पाउँ भनि आमा दुर्गादेबी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर अन्तर्गत उजुरी दर्ता गरेकी हुन् । मुलुकी अपराध संहिता ऐन, २०७४ ले ३ वर्षदेखि ७ वर्षसम्म सजाय हुने कानुनी व्यवस्था गरेको छ ।