काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैंठकमा होली वाईनको विषयमा चर्को बहस भएको छ ।
विवादास्पद धार्मीक संस्था युनिभर्सल पिस फेडेरेस (यूपीएफ) ले राजधानीमा गरेको ‘एसिया प्यासिफिक समिट’ मा सरकारको सहभागितालाई लिएर चर्को विवाद भएको हो ।
सम्मेलनमा सरकारको सहभागितालाई लिएर नेताहरुले चर्को आलोचना भएपछि आइतबारको बैंठकमा माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् ।
नेता नेपालले युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) संगठन नराम्रो नभएको र उसले आयोजना गरेको सम्मेलनमा भाग लिएर आफूहरुले गलत काम नगरेको भन्दै बचाउ गरे ।
उनले आफू युनिभर्सल पिस फेडेरेसनमार्फत २२ पटक नभई ६ पटक मात्र विदेश गएको स्पष्टीकरण बैंठकमा दिएका छन्।
लगतै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल अग्नि सापकोटा लगालयतले वरिष्ठ नेता नेपालको दाबी खण्डन गरेका छन् । सम्मेलनमा सरकार र पार्टी शीर्ष तहको सहभागिता गलत भएको यसले पार्टी नेताहरुको छवि धमिल्याएको बताए ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले २०१२ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारसँग मिलेर संयुक्त कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले विरोध गरेको स्मरण गरेका थिए ।
यो पटक पनि आफूले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुबैलाई सचेत गराएको सुनाए । उनले भने, ‘मैले केपी ओलीलाई भेटेर तपाई पस्दै हुनुहुन्छ भनेको थिएँ ।’
नेता भीम रावल र घनश्याम भुसालले पनि युनिभर्सल पिस फेडेरेसन अत्यन्त बदनाम संगठन भएको र सम्मेलनमा सरकारको सहभागिता गलत भएको बताए ।
रावलले सम्मेलनमा आएका पाहुनाहरुलाई प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको पत्रसमेत पढेर सुनाएका थिए । उनले एउटा विवादास्पद संगठनले आयोजना गरेको सम्मेलनमा आउने पाहुनालाई यसरी प्रधानमन्त्रीले पत्र पठाउने र सल्लाहकारले बाँड्ने काम गर्न मिल्छ ? उनले प्रश्न गरेका छन् ।
नेता अग्नि सापकोटाले राष्ट्रियताको मामिलामा यतायता गर्न नपाइने भन्दै नेतृत्वले गल्ती सच्याउनुपर्ने बताए । एकपछि अर्को नेताले माधव नेपालको स्पष्टीकरणको खण्डन गरेपछि प्रधानमन्त्री ओलीले यसलाई धेरै नउचाल्न आग्रह गरे । साथै उनले आफू अलि बढी वरिष्ठ नेता नेपालको भरमा परेको समेत बैठकमा बताएका छन् ।
अर्का अध्यक्ष प्रचण्डले भने राजनीतिक प्रस्ताव परिर्माजन गरेर अन्तिम रुप दिँदा यसबारे पनि एउटा निश्कर्षमा पुगौंला भन्दै विवाद तत्काललाई टारेका छन् ।