झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो ।
“कोरियामा पाँच वर्ष काम गरेँ”, उहाँले भन्नुभयो, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उहाँको लक्ष्य छ ।
उद्योगमा हाल रु १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताउनुभयो । उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।