ललितपुर । ललितपुर महानगरभित्र नमूना सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि ललितपुर महानगरपालिका र सामुदायिक बिकास केन्द्र तिखेदेवलबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सोमबार ललितपुर महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
ललितपुर महानगरपालिकाका गत तर्फबाट मेयर चिरीबावु महर्जन र सामुदायिक विकास केन्द्रकातर्फबाट अध्यक्ष डाक्टर गोबिन्दप्रसाद थापाले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुर महानगरपालिका अन्तर्गत रहेको परिवार नियोजन संस्थागत क्लिनिक संचालन गर्न महानगरको आफ्नै भवन नभएको हुँदा सामुदायिक स्वास्थ्य केन्द्र अन्तर्गत महानगरको वडा नं १४मा रहेको उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा एउटै व्यवस्थापन र आन्तरिक प्रशासनबाट क्लिनिक संचालन कार्य गर्ने समझदारी पत्रमा उल्लेख छ ।
समझदारी पत्रमा छिट्टै २४ घण्टा नै सुलभ गुणस्तरीय सेवा सुरु गर्ने उल्लेख गरिएको छ । महानगरले आफ्नो सत्वार्षिक कार्यक्रममा एक वर्षभित्र नगरपालिकामा सामुदायिक अस्पताल निर्माणको लागि काम थाल्ने निर्णय सार्वजनिक गरेको थियो । मेयर चिरीबाबुले भने , ‘सामुदायिक अस्पताल निर्माणका लागि यो प्रस्थान बिन्दु हो , जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि थालेको प्रयास हो । ’ निजीसंघसंस्थालाई सामाजिक उत्तरदायित्वको काममा सहभागि गराउन सके त्यो विकास प्रभावकारी र स्थायी हुने बताए ।
उपमेयर गीता सत्यालले उक्त स्वास्थ्य केन्द्रको संचालनबाट महानगरबासीहरु लाभान्वित हुने बताउँदै स्वास्थ्यसेवामा जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिन् । सामुदायिक विकास केन्द्रका अध्यक्ष थापाले स्वास्थ्य केन्द्रको स्थापनाले घरदैलो मै जनताले स्वास्थ्य सेवा उपभोग गर्न पाउने बताउँदै उपलब्धिमूलक काम भएको बताए ।
उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र र महानगर अन्तर्गत रहेको परिवार नियोजन संस्थागत क्लिनिक दुबै सेवाको संचालन गर्नका लागि ११ सदस्यीय संचालक समिति समेत गठन गरिएको छ । उक्त समितिको प्रमुख संरक्षकमा नगरपालिकाका मेयर रहने उल्लेख गरिएको छ । यसैगरी संरक्षकमा उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्रका संरक्षक रहने व्यवस्था छ ।