काठमाडौँ , नेपाली कामदारहरु जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो।
यो विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको थियो। भेटवार्तामा कामदार लैजाने प्रक्रियाको बारेमा छलफल भएको हो। जापान रोजगारीका लागि जानहरुले आधारभूत जापानी भाषा जानेको हुनै पर्ने र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ। जापानी प्राविधिक र नेपाली प्राविधिकको छलफल पश्चात उयपुक्त विधि, प्रक्रिया र संरचना तयार हुनेभएको छ। प्रवक्ता रेग्मीले दुवै देशको पारस्परिक हित अनुकूल हुने गरी संरचना तयार पार्ने बताएका छन्।