राजविराज।प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै छोरीहरूको १ लाखको बीमा हुने भएको छ ।
प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको घोषित कार्यक्रम अनुसार माघ १ गतेदेखि जन्मिने बेटीका लागि १ लाखको बीमा योजना लागू भएको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–४ कुशहामा मङ्गलवार आयोजना गरिएको माघी महोत्सवको उद्घाटनगर्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश २ मा जन्मिने वितिकै छोरीहरू लाखपति हुनेछ ।’
‘सप्तरी जिल्लाको महादेवा गाउँपालिकाबाट बीमा गर्ने कार्य सुरु भएको छ’ राउतले भने, ‘महादेवा गाउँपालिकासहित प्रदेश २ का आठ जिल्लाका आठ ओटा स्थानीय तहबाट बीमा गर्ने कार्य सुरु गरिएको हो ।’
बेटी बीमा कार्यक्रम नाम दिइएको यस कार्यक्रम पहिलो चरणमा विरगञ्ज महानगरपालिका, बाराको सुवर्ण गाउँपालिका, रौतहटको यमुना माइ नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकामा बीमा गर्ने कार्य सुरु गरिएको मुख्यमन्त्री राउतले जनाए ।
अब जन्मिने प्रदेशका सवै छोरीहरुको बीमा गरेर छोरीलाई पनि छोरा सरह सक्षम र सवल बनाउन एवं छोरीप्रति रहेको सोच परिवर्तन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए ।