चित्र माया श्रेष्ठ- रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबार हुन लागेको सार्वजनिक सुनूवाईको कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गरेको छ।
गाउँपालिकाको प्रमुख प्रेमबहादुर तामाङले कार्यक्रमको बारेमा आफू नजिकै रहेको जिल्लाको एउटा रेडियोलाई मात्र प्राथमिकता दिएर बोलाएकाले पत्रकारहरूले कार्यक्रममा नजाने निर्णय गरेका हुन् ।
उक्त गाउँपालिका प्रमुख तामाङले पहिला आफैँ स्टेशन म्यानेजर र सञ्चालक समेत रहेको रेडियोलाई मात्रै प्राथमिकता दिने उद्देश्यले अन्य सञ्चार माध्यमलाई जानकारी नगराई कार्यक्रम गर्ने भएपछि जिल्ला भरीकै पत्रकारहरुले गाउँपालिकाको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको रेडियो तामाकोशीका स्टेशन म्यानेजर युवराज श्रेष्ठले बताएका छन् ।
उनले भने- ‘आफू सञ्चालक र पूर्वस्टेशन म्यानेजर रहेको रेडियोसँग महिनौँ अघि नै तालमेल र मिलेमतो गरी गाउँपालिकाका अध्यक्ष तामाङले अरु सञ्चार माध्यमलाई बाइपास गरेका हुन् । जिल्लामा रहेका सञ्चार माध्यमलाई यसरी भेदभाव गर्न नहुने हो तर भइरहेको छ । जनप्रतिनिधि जस्ताे सार्वजनिक पदमा बसेकाे साझा व्यक्तिले त्यसो गर्नुहुने थिएन ।’
गाउँपालिकाले एउटा निजी रेडियोलाई मात्र प्राथमिकताका दिएर सार्वजनिक सुनूवाईको कार्यक्रम गर्ने भएपछि जिल्लाका अन्य सञ्चार माध्यमहरुले कार्यक्रममाथि नै शंका गरेका हुन ।
पालिका प्रमुखले जनप्रतिनिधिको रुपमा आउना साथ राज्यकोषको दुरुपयोग हुनेगरी गाडी भाडामा लिएको तथा गाडी खरिद गरेको, पालिकामा आफ्ना नातागोताका मानिसलाई रोजगारी दिएको विषयमा सञ्चार माध्यमले खबरदारी गर्न थालेपछि उनले पछिल्लो समय जिल्लाका सञ्चार माध्यमलाई शत्रुवत् व्यवहार गर्न थालेको पत्रकारहरुको गुनासो रहेको छ।
सार्वजनिक सुनूवाई कायक्रम हुनेबारे आफूलाई पनि कुनै जानकारी नभएको पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले बताए । तर गाउँपालिकाको अध्यक्ष तामाङले भने पत्रकारहरुलाई फोन नलागेको भन्दै पन्छिएका छन् ।
गाउँपालिकाले सञ्चार माध्यमलाई कसैलाई काख र कसैलाई पाखा गर्नु हुँदैन यदि यस्तो गरिए त्यसका विरुद्ध महासंघ लागिपर्ने अध्यक्ष ढुंगेलको भनाई छ।
यसअघि पालिका भवनमा अनियमितता भएको आशंका गर्दै अधिकांश वडा अध्यक्षले भवन उद्दघाटन कार्यक्रम नै बहिष्कार गरेका थिए । हालै खाँडादेवी काँग्रेसले पालिकामा अनियमितता भएको भन्दै आयव्यय देखाउन ज्ञापन पत्र नै बुझाएको छ । जिल्लामा हाल ७ वटा रेडियो सञ्चालनमा रहेका छन् ।