काठमाडौं । दैनिक व्यवहार तथा अव्यवस्थित खानपिनले नेपालमा मुटुरोगीको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समयमा सबै उमेरकामा यो रोग देखिएको विज्ञहरुले बताएका छन् ।
नेपालमा कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताएका छन् ।
उनका अनुसरा जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताउनुभयो । पर्वतको कुश्मामा आउनुभएका डा भट्टराईले रासससँग कुरा गर्दै मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने बताए ।
धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइडे«डजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उहाँको सुझाव छ । मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्नेमा बताए ।
त्यसैगरी फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा भट्टराईले वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक सङ्केत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए ।
जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने बताउँदै उहाँले आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशील अङ्ग मुटुरोगबाट बच्न सकिने जानकारी दिए ।