कञ्चनपुर । कार्तिक २५ गतेदेखि अनशनमा बसेका निर्माला पन्तका आमाबुबाले धर्ना कार्यक्रम स्थगित गरेका छन् । उनकी १३ वर्षिया छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना बस्दै आइरहेका थिए ।
उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गरेका हुन् । छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो गरे ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट लाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए ।
धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएको छ ।
अहिलेसम्म सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाउन सकेको छैन् । सरकारले अझै पनि हत्यार पत्ता नलगाएको भन्दै ठूलो आलोचना भइरहेको छ ।
File Photo