काठमाडौं । नेपाली कांग्रेसले एक वक्तव्य जारी गर्दै नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसको दुबै सदनका प्रमुख सचेतक तथा सचेतकहरुद्वारा संयुक्त हस्ताक्षर सहित जारी गरिएको वक्तव्यमा भनिएको छ, सम्झौतामा जनअभिमतको ब्याख्याले झनै शंका उब्जाएको उल्लेख गरिएको छ ।
उसले भनेको छ, सहमति बेगर सिके राउतले स्वतन्त्र मधेश सम्बन्धि समाग्री वितरण तथा प्रयोग गर्नुले शंका जन्माएको छ । साथै सिके राउतका आफन्तले जनअभिमतलाई जनमत संग्रहको ब्याख्या गरेको भन्दै आपत्ति जनाएको छ ।
सरकार र सिके राउतबीच भएको सम्झौताप्रति कांग्रेस सभापति शेर बहादुर देउवादेखि तल्लातहका नेताहरुले असहमति तथा शंका व्यक्त गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ
फागुन २७, २०७५
प्रेस विज्ञप्ति
हालेै नेपाल सरकार र सि.के राउत बीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्यौल श्रृजना भएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन् ।
सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सि।के। राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमत संग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएका छन् । सहमति पश्चात सि।के। राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको छ ।
सहमतिका प्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आशंका उत्पन्न भएको छ ।
राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलाप प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।
बालकृष्ण खाण
प्रमुख सचेतक
प्रतिनिधि सभा
पुष्पा भुषाल गौतम
सचेतक
प्रतिनिधि सभा
सरिता प्रसाई
प्रमुख सचेतक
राष्ट्रिय सभा
सुरेन्द्र राज पाण्डे
नेता
प्रमुख प्रतिपक्ष दल, राष्ट्रिय सभा