हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनआन्दोलन दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
आइतबार शुभकामना बक्तव्य जारी गर्दै उनले २०६२ चैत २४ गतेबाट शुरु भएको दोस्रो जनआन्दोलन जनताको बलमा सफल भएको भन्दै यसले देशमा राजनैतिक व्यस्थामा आमूल परिवर्तन गरेको स्मरण गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट राजनैतिक व्यवस्था भएको भन्दै फेरि पनि आन्दोलनको नाममा जनताले रगत बनाउन नपरोस् भन्ने तर्फ सचेत रहनुपर्नेमा समेत जोड दिए ।
बक्तव्यमा उनले संघीयताको मर्म अनुसार अघि बढ्न र शान्ति र समृद्धिको अभियानमा जुट्न समेत सबैलाई आग्रह गरेका छन् । यसका लागि बोली र व्यहारमा एकरुपता ल्याउन सरकारले कमद अघि बढाउनुपर्नेमा जोड दिएका छन् । लामो समय सशस्त्र युद्ध गरेको शक्ति समेत नेपाली कांग्रेसको नेतृत्व र पहलमा राजनैतिक मूल धारमा आएको भन्दै बानियाँले हरेक समस्यालाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्न सकिनेतर्फ सचेत रहन वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।
आफ्ना मागलाई सम्बोधन गराउनका लागि हिंसात्मक गतिविधिमा लागेकाहरुलाई वन्देजका माध्यमबाट नभई शान्तिपूर्ण वार्ताको माध्यमबाट सहमतिमा ल्याउन वर्तमान सरकारलाई बानियाँको आग्रह छ । जनताले प्राप्त गरेका उपलव्धीलाई कुनै पनि बहानामा कमजोर गर्ने गतिविधिमा नलाग्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।