प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।
सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाझ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिएको जानकारी दिए ।
अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य कांग्रेसले राखेको छ । यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धा्रित कार्यक्रम स्थगित भएको थियो ।
‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । आजबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।
जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ ।