सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको मिडियालाई सबैभन्दा सुरक्षित गर्ने ऐन ल्याउन लागिएको बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ३ नम्बर प्रदेश भेलाको शनिबार धुन्चेमा उद्घाटन गर्दैै मन्त्री बाँस्कोटाले प्रेस जगत समाजको दर्पण भएका कारण सत्य तथ्य समाचार सङ्कलन गर्न आग्रह गरे।
कुनै पनि कानून बनाउँदा अरुलाई सोधेर मस्यौदा बनाउने नभइ सरकार आफैँले बनाइ विधेयक संसदमा पेश गर्ने प्रक्रिया रहेको उनले स्पष्ट पारे । मन्त्री बाँस्कोटाले सामाजिक, आर्थिक संस्कृतिसमेत समग्र विषयवस्तुलाई समेटि समृद्ध नेपाल बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताए ।
उनले रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङटाङ र नेपालको उत्तरी नाका रसुवागढी यही जिल्लामा रहेकाले आउँदै गरेको पर्यटन वर्षलाई सफल पार्न एकताबद्ध तवरले अगाडि बढ्न रसुवालीलाई आग्रह गरे ।